You are viewing the translated version of कार्यतालिका निर्माण र परिमार्जनः.

Rule 40D
कार्यतालिका निर्माण र परिमार्जनः
(१) फिरादपत्र पुनरावेदनपत्र रिट निवेदन वा मुद्दा सरह कारबाही हुने अन्य निवेदन दर्ता गर्दा स्रेष्तेदारले त्यस्तो मुद्दाको लागि तोकिएको मार्गसमूह यकीन गरी सोको कार्यतालिका प्रमाणित गर्नुपर्नेछ ।

(२)मुद्दामा दुबै पक्षको तारिख मिलान भएपछिको पहिलो सुनुवाइको दिन र पूर्व सुनुवाइ छलफल हुने भएमा सो दिन सम्बन्धित न्यायाधीशले उपस्थित मुद्दाका पक्ष वा निजको वारिस वा कानून व्यवसायीसँग छलफल गरी बाँकी कार्य सम्पन्न गर्नका लागि कार्यतालिकामा परिमार्जन गर्न आदेश दिन सक्नेछ।

तर मुद्दाको कुनै पक्ष उपस्थित नभएको कारणले मात्र मुद्दाको कार्यतालिका परिवर्तन गर्न बाधा पर्ने छैन।

(३) उपनियम (२) बमोजिम परिमार्जन गरिएको कार्यतालिकामा मुद्दाका उपस्थित पक्षको सहीछाप गराई मिसिल संलग्न गर्नुपर्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम प्रमाणित कार्यतालिका अनुसार कुनै कारबाही निर्धारित मितिमा सम्पन्न हुन नसकेमा स्रेष्तेदारले सम्बन्धित न्यायाधीशको निर्देशनमा रही कारण खोली फैसलाका लागि निर्धारित मिति ननाघ्ने गरी कार्यतालिका परिमार्जन गर्न सक्नेछ।

(५) उपनियम (४) बमोजिम कार्यतालिका परिमार्जन गर्दा मुद्दाका पक्षहरूको कुनै प्रतिक्रिया भए सो समेतलाई विचार गर्न सकिनेछ।

(६) यस नियमबमोजिम कार्यतालिकामा उल्लेख गरेको कुनै काम गर्नु नपर्ने अवस्था परेमा वा तोकिएको कार्यअगावै सम्पन्न भएमा त्यस्तो मुद्दामा अगावै कारबाही र किनारा गर्न सकिनेछ।